नेपाल संसार को मान चित्र मा

नेपाल संसार को मान चित्र मा
संसारको मानचित्रमा हेर्दा सानो देखिय पनि अटल, स्वाभिमान, अखन्डता, स्वोछ, एबंमा स्रोत र साधनमा तुलना गर्ने हो भने संसार मा कुनै देश भन्दा कमी छैन।

Tuesday, January 6, 2009

कोपिला, फूल र प्रेमको भाषा एकै हुन्छ

अलकत्रे सडक। जहाँ रुखका लामा लामा छायाहरु बिलाएको थियो। हेर्दा लाग्थ्यो यो सडक कुनै बलिष्ठ पुरुषको नाङ्गो छाती हो। ऊ त्यही सडक छेउमा उभिएकी थिई र सोचको गहिरो दहमा डुबेकी थिई। उसले आफू गइरहेको दिशासमेत पत्तो पाएकी थिइन। ठ्याक्कै जानै पर्ने ठाउँ पनि थिएन। भेट्नु पर्ने कोही विशेष मान्छे थिएन। र निरुद्देश्य एकनास हिँडिरहेकी थिई। उसले सोची- ‘साथहरु केही क्षणका लागि रहेछन्। अब जीवनमा मैले एक्लै एक्लै हिंड्नु पर्छ। बाँच्नु पर्ने जीवन लामो छ। काम गरेर थाक्नु पर्ने दिन र आराम गर्नुपर्ने रातहरु धेरै छन्।’ उसले कसिलो ठानेको प्रेमको डोरी भरखरै छिनेकJ थियो। यो विछोडको पीडाले एक्लै रहँदा ऊ आफूमा शून्य महसुस गर्थी। शहरको कोलाहलले उसलाई अलिकति पनि छोइरहेकJ थिएन। आफ्नै मनमा ठूलो कोलाहल मच्चाएर हिंडेकी थिई। नाप्ने हो भने मनभित्रको कोलाहलको डेसिबल सबैभन्दा बढी पुग्छ भन्ने उसको अनुमान थियो। साँझ परिसकेको थिएन। दिनभर तातेको घाम विस्तारै पहेँलिँदै र रातो बन्दै गएको थियो। उसले पश्चिम भासिन लागेको फुङ्ग बादल छेउको घामको घुर्मैलो रातो डल्लोलाई हेरी। ‘यो मबाट कति टाढा होला-’, साँझको सिरसिरे बतासले उडाएको कपाल त्यतिकै छाडिदिएर उसले सोची- ‘मेरा प्रत्येक सम्बन्ध यही डढेको साँझको सूर्यजस्तो पहेँलिएका छन्। यी सम्बन्धका सीमाहरु मबाट यति परको क्षितिजमा छन् जति दूरीमा छ यो सूर्य।’ उसले निष्ठुरी भइसकेको प्रेमीलाई सम्झी। उसको हातको तातो स्पर्श याद गरी। मैलो बाग्मती सम्झी। जहाँ उनीहरु हात समातेर प्रष्ट नदेखिने सूर्यको छाया हेर्थे। त्यो हिजोलाई उसले अहिलेको आफ्नो जिन्दगीसाग दाँजी र अझ उदास भई। निधारमा लागेको प्रेमीको ओठको दाग झरीले खोपिल्टा परेको बलेसीजस्तो अब विस्तारै मेटिँदै गएको अनुभव गरी। पीडाले छियाछिया पार्ने मन बाहेक प्रेमीको चिनो नीलो चाक्लो रुमाल उसले हराइसकेकी थिई। जो नहराउन्जेल प्रत्येक साँझ आफ्ना गुलाबी गालाहरुमा टाँसेर ऊ त्यसलाई चुमिरहन्थी। जसबाट आउँथ्यो उसको प्रेमीको हरक र मायालु स्पर्श। जुन दिन त्यसलाई हराइ ऊ निकै रोई र सिरानी भिजाइ। एकान्तमा आउने उसको प्रेमीको सुगन्ध त्यही रुमालसँगै हराएको थियो। यस्तै सोचाइको लम्बाइ बढ्दै गएपछि उसलाई आफ्नो सौन्दर्यको उचाइले आफैलाई किचेको अनुभव भयो। सम्झनाका सिर्कनाहरुले मनको कुनामा यसरी सोँठ्याए कि प्रत्येक प्रहार उसका लागि पीडादायी भइरहर्योझ। उसलाई आफूभित्रको विश्वासको हिमाल होचिँदै गएको भान भयो। सबै सुन्दरता धूँवाको कालो लप्का र खरानीजस्तो भएर आँखामा देखियो। सोचाइको ऐनामा हेर्दाहेर्दै उसलाई हिजो सुन्दर लागेको उसको प्रेमीको अनुहार विस्तारै कुरुप र भद्दा लाग्दै गयो। आँखाको नानीमा विगतको सम्झनालाई उसले यसरी हेरी- प्रत्येक साँझ उनीहरु प्राचीन शहर घुम्थे। मक्किन लागेको ऐतिहासिक सिंढीमा ढेपिएर बसेका हुन्थे। छेवैमा हरियो लेउ लागेको पोखरी थियो। पोखरी छेउमा पहेँलो इँटा छापिएको सफा बाटो थियो। बाटो पुराना घरहरु छुँदै पर्तिर कतै अन्त मोडिएको थियो। उनीहरु बाटो छेउको प्रचीन देवलमा घण्टौँसम्म अडेस लाग्थे। कुनै विदेशी नियोगको सहयोगमा बनेको पार्कमा डुल्थे। हरेक भेटमा उसको प्रेमी उसलाई चुमिरहन्थ्यो र उत्तर आधुनिकजस्तो लाग्ने सोचाइमा भन्थ्यो-’प्रेम पनि अन्तिम सत्य होइन। मात्रै आकर्षणको चुम्बकीयताले पैदा गरेको भ्रम हो। र यो एउटा बाँच्न सिर्जना गरिएको निहुँ हो। यदि यति नहुँदो हो त बाँच्ने बहानामा सबै मान्छेले आत्महत्या गरिसकेका हुन्थे, तिमी र मैले पनि। वा एकले अर्कालाई मारिसकेका हुन्थे। यतिखेर सबै मान्छेसँग प्रेम, विछोड, मृत्यु, घृणा र पूर्वस्मृति जस्ता एक एक वटा बाँच्ने निहुँ छन्। त्यसैले वास्तवमा हामी अवास्तविक हौं। हाम्रो प्रेम अन्तिम सत्य होइन। अन्तिम सत्य असत्य र मृत्यु मात्रै हो, त्यो समयको काँटामा घडी भएर हल्लिरहेको हुन्छ। हावामा उड्ने धुलोका मसिना चक्काजस्तो हाम्रो अनुभूतिको उडानले यस्तै असत्यहरुलाई निहुँ बनाएर बाँच्ने अर्को निहुँ पैदा गरिरहेको छ।’ त्यतिखेर ऊ चौडा फैलिएको नीलो आकाश हेरेर प्रेमीको काखमा पल्टिएकी थिइ। उसले प्रेमीको काखमा सुतेर सुनेका नदीको प्रवाहजस्तै यी कुराको वास्ता गरिन। उसलाई यी सबै आधुनिक गद्य कविताजस्तो लाग्यो। र त्यो एकान्तिक भेटमा उसका कुरा प्रति कुनै विवाद गरिन। विवादमा ऊ सधैँ विफल हुन्थी। विवादमा तर्क गरिरहनु भन्दा प्रेमीको तातो काखमा पल्टिनु सयौँ गुणा लाभदायक हो भन्ने ऊ ठान्थी। र प्रेमीको काखमा पल्टेर रमाइला सपना देख्थी। यस्ता सपना जुन सपनामा सपनाका सबै विशेषताहरु भरिएका हुन्थे।मात्रै उसले प्रेम प्रदर्शन गरिरही। त्यसको प्रमाणमा रुमाल साटी, रुमाल साटिएको प्रेम गाढा हुन्छ भन्ने पुरानो विश्वासमा थियो उसको प्रेमी पनि। टाँसिएर फोटो खिची र सधैँ साथमा फोटो बोकेर हिँडी। उसलाई औधी मन पर्ने उसको त्यो प्रेमीलाई प्रत्येक भेटमा कसिलो शरीरलाई अझ आफूमा कसी। अंगालो हालेर जुङ्गाले नढाकेका राता ओठमा चुम्बन वर्षा गरी। गहुँगोरो गालामा म्वाइ खाई। आँखामा आँखा जोडेर हेरी। कयौँ पल्ट बलिष्ठ पाखुराहरु झड्कारेर आफूतिर तानी। केही नमिलेका औलाहरुलाई खेलाइ रही। विगतको ऐनामा आफूलाई हेरिरहँदा अँध्यारोसँगै बढ्दै जाने डर र त्रासजस्तै उसको मनमा कुराका शृङ्खलाहरु बढिरहे। उसले मानवीय भावना, गरिमा, प्रेम, कसैको कसैसँगको गहिरो सम्बन्ध-सबै विस्तारै धमिलिँदै गएको अनुभव गरी। अझ प्रेमको कुनै निर्दिष्ट गन्तव्य नहुँदोरहेछ भन्ने उसलाई लाग्यो। ‘के बिहे मात्र प्रेमको निर्दिष्ट गन्तव्य हो ?’, कल्पनाको क्षितिजको गजबार भाँचेर उसले आफैलाई सोधी-’होइन भने आफ्नो जीवनभन्दा प्रिय सम्बन्ध नाघ्नै नसक्ने पहाड र तर्नै नसक्ने समुद्रजस्तो भएर किन टुट्यो ? किन हरायो प्रेमको चीनो नीलो रुमाल ? रुमाल हराउनु र सम्बन्ध टुक्रिनु एकै साथ किन भयो ?’ ऊ अनुत्तरित भइ। उसले प्रेमको चिनो हराइसकेको रुमाल सम्झी। र, रुमाल सम्झिँदै उसले अतितका चोक्टाहरु स्मृतिमा नचाइरही। जेठको उखरमाउलो गर्मीको त्यो दिन उनीहरु टेकुको दोभानमा थिए। चुन पोतिएको त्यहाँको पुरानो देवलको रङ मान्छेको समवेदना र सभ्यताजस्तै पत्रपत्र भएर उप्किँदै गएको थियो। मैलो बाग्मतीलाई बग्ने हतारो थिएन, अल्छे लाग्दो गरी बगिरहेथ्यो। एउटाको देव्रे हातमा अर्काको दाहिने हात घुसारेर उनीहरु त्यो किनारैकिनार हिंडेका थिए। पारीको हरियो चौर र खुला आकाशको रंग त एकै थिएन तर वारी वसेर उनीहरुले पर देखिने पुल, उडिरहेका गिद्ध र कागका बथानहरुलाई एकनास नियालेका थिए। बतासको झोक्काले बिगारेको कपाललाई औलाको काइँयो बनाएर बेला बेला सम्याइरहन्थे। जलवायु परिवर्तनको असरले हुनुपर्छ खुला आकाशमा उत्तरतिरबाट केही राँटा बादल आएर धुम्म भएको थियो र एक्कासी पानी परेको थियो। खोला किनारको देवलको खोपीमा चेपिएर उनीहरु दर्किएको पानीबाट ओतिए। र, एकनास खोलामा परेका पानीका थोपाहरु हेरिरहे। उनीहरुको मनमा चाहिँ पानीका फोका फुटेजस्तै अनेक तरङ्ग आउने र फुट्ने गरिरहेको थियो। ऊ गुलाबी रङ्गको कुर्तामा थिई। यसले उसको सौन्दर्य निकै खुलेको थियो। उसको प्रेमी घ्यु रङ्गको सर्ट र त्यही रङ्गको पाइन्टमा आएको थियो। गहुँगोरो ऊ पनि निकै ह्याण्डसम देखिएको थियो। चोइटिएको इँटाको टुक्राले ओत लिएर बसेको ठाउँमा बिना सल्लाह सक्दो छिटोछिटो भुँइमा एक अर्काको नाम कोरेका थिए। अनि एक अर्कालाई हेरेर लजाएका थिए। र, फेरि एक अर्काको हत्केलामा नामको वर्णको पहिलो अक्षर लेखेका थिए। हत्केलामा निबले कोर्दा काउकुती लागेर उसले असहज महसुस गरेकी थिई। दुवैले एकअर्काको हत्केलाका किरमिरे रेखाहरुमा सुखको भविष्य कुदेको जिन्दगीको चित्र देखेका थिए। आकर्षक गोला आँखाबाट लत्पतिएर गालामा लागेको गाजले दाग उसले आफ्नो नीलो रुमालले पुछिदिएपछि पुरुष स्पर्शले उसका गुलाबी गालाहरु अझ गुलाबी गुलाबी भएका थिए। कतिसम्म भने अनुहारका मसिना छिर्के दाग पनि प्रष्ट देखिएको थियो। हल्का लिपिस्टिकले केस्रा परेका ओठमा ऊ अझ सुन्दर देखिएकी थिई। पानी थामिएको थियो। आकाश उघ्रिँदै थियो तर ढल्किँदो दिनसँगै ऊ विस्तारै उदास हुँदै थिई। विस्तारै हिँडेको अजिंगरजस्तो नदी किनारको सिँढीमा उसको दाहिने पट्टि ढेप्पिँदै भनेकी थिई-’म किन तिमीलाई विर्सनै नसक्ने भएको छु ? किन यति धेरै सम्झिन्छु र आफूलाई भन्दा तिमीलाई बढी माया गर्न थालेको छु ? मलाई जन्म दिने मेरी आमाको भन्दा बढी तिम्रो माया लाग्छ।’ चमकदार हीराजडित चाँदीको औँठीले अझ खिरिलो देखिएका उसका गोरा औँलाहरु चुमेपछि ऊ बोलेको थियो- ‘प्रेमको भ्रम यहीँबाट शुरु हुन्छ। जस्तो फूल फुल्नुअघि कोपिलामा हुन्छ। कोपिला सधैँ फूलभन्दा म सुन्दर छु भन्ने भ्रममा फूलिरहेको हुन्छ। कोपिला, फूल र प्रेमको भाषा एकै हुन्छ। केही नभनेर पनि फूल बोलिरहेको हुन्छ, मुस्काइ रहेको हुन्छ। केही नभनेर पनि प्रेममा धेरै भइरहेको हुन्छ। तिमीले कहिल्यै नसोच्नू यो प्रेम सागरभन्दा पनि गहिरो हुन्छ वा कहिल्यै नठान्नू यो उदास बगरजस्तो हुन्छ। जिन्दगीलाई आफ्नै आँखाको ऐनामा हेर्नु र सोच्नु कुनै दिन यो सगरजस्तो चौडा मनमा प्रेम गर्न एक चिम्टी ठाउँ पनि बाँकी नरहन सक्छ। आफूलाई औधी मन परेको कुनै चिज क्षणभरमै कुरुप लाग्न पनि सक्छ।’ शास्त्रीय शैलीको जवाफ उसले कम बुझी। ‘तर म त्यस्तो भ्रममा छु जस्तो लाग्दैन। म एकदम ठीक छु। मलाई मेरो मनले भनिरहेछ म साँच्चै प्रेमको दहमा विस्तारै डुब्दैछु। अब जीवन जीवन जस्तो लाग्न थालेको छ। तिमी छौ भन्ने लाग्छ र केही गर्ने उत्साह पैदा भइरहेछ। अब मसँग निराशाका कुनै राँटाहरु बाँकी छैनन्’, उसले एक सासमा ढेपिएरै भनी र उसका गालाहरुमा आफ्ना कोमल हत्केला नचाइ। एक अर्काको अनुहारमा मलिन भएर दुवैले हेरे। ‘तिमीलाई त्यस्तो लाग्नु पनि बेठीक होइन। प्रेम सदभाव हो यो सारा अस्तित्वप्रतिको। प्रेम करुणा हो, यदि त्यसमा दुःखी हुने हो भने त्यो भन्दा माथि दुःखी हुने कुनै ठाउँ हुँदैन। प्रेममा यस्तै हुन्छ। जीवन र खुशी, पीडा र आँसु पनि मगमगाउँछ थुप्रै परसम्म- त्यो क्षितिजभन्दा पनि परसम्म त्यसको सुवास मगमगाइ रहन्छ’, उसले यति भन्यो र उसको चाक्लो निधारमा एक चुम्बन गर्योि। त्यसपछि उसले फेरि अर्को प्रश्न गरिन। बरु त्यसपछि ऊ प्रतिको स्नेह झन बढेको महसुस गरी। साँझ अबेरसम्म उनीहरुले त्यो किनारमा घुमेर आँखाले भ्याएसम्म देखिने परको पहाडलाई हेरिरहे। उसले आफ्नो प्रेम त्यहीँसम्म फैलिएको छ भन्ने ठानी। लोडसेडिङ थिएन। शहरमा बिस्तारै बत्तीहरु बल्न थालेपछि उनीहरु त्यहाँबाट कच्ची सडक हिंड्दै पचली भैरवको मन्दिर पुगेका थिए। उसको पाखुरा आफूतिर तान्दै कुममा टाउको अड्याएर ऊ लस्याक लस्याक हिँडिरहेकी थिई। उनीहरुले घुमेर मन्दिर दर्शन गरेका थिए। त्यही दिन मन्दिरमा उसले आफ्नो खल्तीको नीलो चाक्लो रुमाल उसको हातमा राखिदिएको थियो। र, गालाहरुमा ओठको ल्याप्चे लगाइदिएर भनेको थियो-’राख यो रुमाल। अब मेरो गन्ध रुमालमा बेरिएर सधैँ तिमीसँगै रहन आएको छ। जहिलेसम्म हामी विधिवत् एक हुँदैनौँ तिमीले यो रुमाल सम्हालेर राख्नू। रुमाल साट्नु प्रेमको सबैभन्दा नजिकको प्रतीक हो। त्यसमा प्रेमीको सुगन्ध बसाउँछ। रुमालको सुगन्धले दिलाउने यादले प्रेमको समर्पण बढाउँछ र प्रेम अझ उचाइमा पुग्छ। जब साटिएको रुमाल हराउँछ त्यसपछि त्यो प्रेम आफै खिईँदै जान्छ। सम्बन्धका चहकिला रेखाहरु क्रमश मेटिँदै जान्छन् र अन्ततः विन्दु समेत नदेखिने गरी त्यो बिलाउँछ। सम्झिनू, साटिएको रुमाल हराउनु प्रेममा असफलताको संकेत र अपसकुन हो।’ केही नबोली उसले त्यो रुमाल आफ्नो कालो हाते ब्यागमा राखेकी थिई। र आफ्नो रातो रुमाल पट्याएर उसको हातमा राखिदिएकी थिई। नबोलेरै दुवैले दुवैलाई हेरेका थिए। त्यहाँबाट माथि टेकुको मूल सडकसम्म आउँदा झण्डै झुण्डिए जसरी नै ऊ उसको जीउमा ढेपिएकी थिई। त्यसपछिका दिनहरुमा पनि उनीहरु बंगलामुखी, दक्षिणकाली, सूर्यविनायक, स्वयम्भू, पशुपति डुलेका थिए। मन्दिरभित्रै पसेर दर्शन त गरेनन् तर मनमनै दुवैले एक अर्काको हुने बाचा गरे। ‘तर ठीक उसले भनेजस्तै भयो। मैले रुमाल हराएपछि सम्बन्धका चहकिला रेखाहरु क्रमशः मेटिँदै गए’, काठमाडौँको भीडभाड बसमा कार्यालयबाट घर फर्किँदै गर्दा हराएको रुमालको स्मृतिमा उसले आफूलाई फर्काई- ‘कुनै दिन यस्तो थियो उसलाई नसम्झी गाँस गलाबाट छिर्दैन थियो। एक झल्को उसको तस्वीर नहेरी न निद्रा पर्थ्यो न सपना सम्भव थियो। उसको माया नै आफ्नो जीवनको माया थियो र वास्तविक जीवनजस्तो लाग्थ्यो। तर त्यो प्रेमको पर्खाल आज कसरी गर्ल्याम्म ढल्यो ? म बिस्तारै हराएको रुमाल बिर्सिँदै छु। रुमाल साटेको मान्छेको यादलाई घटाउँदै छु। त्यो क्षितिजभन्दा पनि परसम्म फैलिएको ठानेको मेरो प्रेम किन यसरी खुम्चिएर गयो ? रुमाल साटेको त्यो सपनाको राजकुमारजस्तो मान्छे मेरो प्रेम लत्याएर कुन संसारमा बेपत्ता भयो होला, रुमाल हराए पछि ?’ उसले रुमाल हराएपछि सलले आँसु पुछ्दै रोएको सम्झी। उसको प्रेमीले रुमाल दिँदै मन्दिर अघि भनेको रुमाल हराएपछि सम्बन्धको चहकिलो रेखा पनि विस्तारै मेटिँदै जान्छ भन्ने कुरा मनमा आइरहेको थियो। जसले गर्दा ऊ मनमनै बढी पिरोलिएकी थिइ। कहिल्यै उसले आफ्नो प्रेमीलाई रुमाल हराएको कुरा बताएकी थिइन। शायद त्यो सञ्जोग मात्रै थियो वा वास्तविकता, रुमाल हराएपछि उसको शंका सत्यमा बदलिँदै गएको थियो। त्यसपछि बिनाकारण बिस्तारै उनीहरुको भेट पातलिएको थियो। सम्बन्धको गाढा रेखा फिका बन्दै गएको थियो। उसले आफ्नो प्रेम विस्तारै अतितको दुखान्त घटनामा बदलिदै गएको महसुस गर्दै गएकी थिई। आध्यात्मिक चिन्तनबाट पर रहेको उसको उत्तर आधुनिकजस्तो लाग्ने प्रेमीले भनेको शास्त्रीय र आध्यात्मिकजस्तो कुरा कसरी ठ्याक्कै उसको जीवनमा मेल खायो, ऊ प्रत्येक एकान्तमा सोचिरहन्थी। उस्तै मांसपिण्डको मुटुमा बग्ने प्रेमको अनुभव र स्वादमा किन अन्तर हुन्छ उसले बुझ्न सकिन। उसले प्रेम गरेको समय क्षणिक भावुकता थियो वा शारीरिक सुन्दरताको आकर्षण मात्रै वा मानवीय समवेदना केही खुट्याउन सकिनँ। यो प्रेमको आरम्भ कसले गर्योद होला भन्ने प्रश्नको जवाफ उसले आफूभित्र पाइन र प्रश्नलाई मनमा खेलाइ राखी। तर प्रेमले दिएको बिछोडको पीडा र दुखले कठोर र आँटिलो बनाइ रहेको उसले अनुभव गरी। उसले हिँडिरहेका प्रत्येक प्रेमी मान्छेहरु कसैको भविष्य छैन भन्ठानी। प्रत्येक मान्छेसँग विगत मात्र छ, वर्तमान र भविष्य प्रष्ट छैन भन्ने उसलाई लाग्यो। उसले आगतको असुहाउँदिलो स्वरुपलाई हेर्न खोजी तर सकिन। यस्तै कुरा मनमा खेलाउँदै गए पछि आफूले औधी माया गरेको मानवीय समेदना निथ्रिएको आफ्नो प्रेमीलाई सम्झिँदा रक्तचाप बढ्लाजस्तो हुने आफ्नो समस्या केही कम भएको उसले महसुस गरी। उसलाई लाग्यो निर्भयता मात्रै मान्छेको जीवनको मृत्युसँगको विजय हो। प्रेमसँग हारे पनि मान्छे मृत्यु जितेर बसिरहेको हुन्छ र बस्नु पर्छ। तर भययुक्त नहुनु मात्रै जीवनको सुरक्षा होइन भन्ने पनि उसले ठानी। जीवन असुरक्षित छ र त सुन्दर छ, प्रेम जीवन भन्दा पनि असुरक्षित र सुन्दर रहेछ भन्ने उसलाई लाग्यो। ‘प्रत्येकको मनमा भएको घाउ दुख्नेले मात्र अनुभव गर्न सक्छ, नदुख्नेले अनुमान मात्र गर्ने हो’ उसले मनमै विचार गरी-’जन्म, भेट, प्रेम, विछोड, मृत्यु अचानक हुने रहेछ। यसबाट उत्पन्न हुने प्रत्येक पीडामा मान्छे मन दुखाएर बस्छ। शायद मान्छे मन दुख्छ भन्ने जान्दा जान्दै यी कुरा अङ्गालिरहेको हुन्छ। हेर्नेले देखेका प्रत्येक कुरालाई सत्य ठानेर अनुमान गरिदिन्छ। मेरो हुन नसकेको प्रिय मान्छे ! हो तिमीले भनेको सही रहेछ, देखेको मात्र सत्य ठान्नु मूर्खता रहेछ। र त्यो मूर्खता सबैभन्दा ठूलो भूल रहेछ। जीवन पहिरो झरिरहने भित्तोजस्तो रहेछ, जहाँ पानी पर्दापर्दै वा पानी रहेर घाम लागे पनि पहिरो जाने सम्भावना उत्तिकै हुँदो रहेछ। जीवनको अन्तिम सत्य मृत्यु मात्र रहेछ। मलाई अहिले लागि रहेको छ मृत्यु जीवनको द्वार हो र जीवन हुनुको पहिलो पहिचान पनि हो। मृत्यु भएन भने जीवन शायद जीवनजस्तो हुँदैन। बिछोडिनु प्रेमको मृत्यु हुनु रहेछ। र, बिछोडिनु पनि प्रेम हुनुको अन्तिम खास पहिचान रहेछ। बिछोडिएन भने त्यो प्रेम प्रेमजस्तो नहुने रहेछ। मानेँ, घोप्टो परेर बसेको त्यो नीलो आकाश हेर्दै मैले तिम्रो काखमा पल्टेर सुनेका प्रत्येक कुरालाई माने, जो नदीको छालजस्तो भएर अहिले पनि मेरो मस्तिस्कको भित्तासम्म तरङ्गरिहन्छ।’ ऊसँग अब त्यो रुमाल थिएन र झझल्को बाहेक रुमालसँगै आउने प्रेमीको हरक पनि थिएन। पुल नजिकै पुगेका पाइला रोकेर रङ खुइलिसकेको पुरानो चौतारोजस्तो ऊ टक्क अडिई। बगेको खोलालाई पश्चिम पारेर अस्ताउँदो सूर्यलाई हेरी। अस्ताउन लागेको सूर्य हल्का खरानी टाँसिएको आगोको झरभराउँदो कोइलाजस्तो भएर क्षितिजको पहाडबाट आफूलाई बिलाउँदै थियो। नजिकैको रुखको कापबाट छिरेर आएको त्यसको तीखो किरण पनि विस्तारै सूर्यसँगै बिलाउँदै गएको उसले हेरिरही। अब अघि सडकमा देखिएका रुखका छाँयाहरु क्रमशः झन् लामा लामा, भद्दा र छाँया नै नछुट्टिने गरी काला बन्दै थिए। र, उसको सोचको नीलो दहचाहिँ विस्तारै घट्दै थियो।
नमस्कार एबं स्वागतम मेरो ब्लग हेर्ने सम्पूर्ण साथीहरुलाई

About Me

My photo
Simple Living High thinking...

My Blog List